कास्कीको रुपा गाउँपालिका वडा नम्बर ४ ठकुरी बस्तीमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । दर्शन फाउन्डेसनको आयोजना तथा गोर्खा कालिका क्लव र दर्शन आमा समूहको सहआयोजना साथै हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा १ दिने निशुल्क आँखा जाँच सम्पन्न भएको छ । शिविरमा कास्की र लमजुङका गरी १३७ जनाले लाभ प्राप्त गरेका छन् ।
हिमालय आँखा अस्पतालका वरिष्ठ नेत्र अधिकृत गोविन्दनाथ योगीले आँखाको महत्वबारे प्रकाश पार्दै शिविरमा सहभागी मध्ये शल्यक्रिया नै गर्नुपर्ने बिरामीहरुलाई रेफर गर्दै अस्पतालले निशुल्क अप्रेसन गर्ने गरी आँखाको हिफाजतबारे जानकारी गराए ।
कार्यक्रममा रुपा गाउपालिकाको अध्यक्ष एवं प्रमुख अतिथि नवराज ओझाले साविक सिद्ध गाविसमा पहिलो पटक शिविर सञ्चालन गरेकोमा धन्यवाद दिँदै रुपामा क्लब, समूहले स्वास्थ्य सम्बन्धी कार्यक्रम आयोजना गर्नुपर्ने बताए ।
विभिन्न भेगबाट आँखा जाँचका लागि आएकामध्ये अवस्था हेरी चश्मा तथा औषधी समेत निशुल्क वितरण गरिएको थियो । दर्शन फाउन्डेसनका अध्यक्ष पितमबहादुर सेनको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव मदन मल्ल छायाँले गरेका थिए ।